मिस मकवानपुरको ग्राण्ड फिनाले हेटौंडामा हुने
मकवानपुर । मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनाले यही पुस १५ गते हेटौंडामा हुने भएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिको आयोजनामा हुन लागेको उक्त कार्यक्रम क्लब हेटौंडामा दिउँसो १२ बजेबाट सुरु गरिने जनाइएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक कम्पनीका अध्यक्ष सुजन श्रेष्ठले मिस मकवानपुर सिजन ३ सौन्दर्य प्रतियोगिताको बारे जानकारी दिएका हुन् ।
उनले २७ जना प्रतियोगीमध्येबाट छनौट गर्दै १८ जना फिनायलसम्म आइपुगेको बताए । मकवानपुरसहित छिमेकी जिल्लाहरुबाट पनि प्रतियोगितामा सहभागिता जनाएको बताउदैं सुरुवातदेखी फाइनलसम्ममा करिब १५ लाख खर्च हुने उनको भनाई छ । प्रतियोगितामा प्रथम हुनेले चादीँको ताजसहित नगद एक लाख, संघसंस्थाको ब्राण्ड एम्ब्यासेडरका साथै स्वेदश भ्रमण, फिटनेसका निःशुल्क प्रशिक्षण सेवाका साथमा अन्य थुप्रै पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै, द्धितिय हुनेले ताजसहित नगद ५० हजार रुपैया, फोटो सुट, स्वेदश भ्रमण र आकर्षण पुरस्कार प्राप्त गर्नेछन् भने तृतीय हुनेले ताज, नगद २५ हजार रुपैया, फोटो सुट, स्वेदश भ्रमण प्याकेज र अन्य पुरस्कारहरु प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजकमा रोहिनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि, स्वस्तिक डेभ्लपर्स प्रा.लि र वरदान हाउजिङ एण्ड रियल स्टेट प्रा.लि रहेको छ । यस्तै, सह–प्रायोजकको रुपमा हेटौंडा स्कुल अफ म्यानजमेन्ट, हस्पिटालिटी पार्टनर होटल सामना र बैंकिङ पार्टनरमा ज्योति विकास बैंक रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य निर्णायक मिस युनिभर्सर नेपालका सेकेण्ड रनर अप रक्षा उप्रेती रहकी छिन् भने अन्य निर्णायकहरमा नायक विनोद न्यौपाने, चलचित्र निर्माता कृषा चौलागाई र नायिका सरिता गिरी रहेका छन् ।
