समानुपातिक विज्ञापन वितरण गर्न पत्रकार महासंघको आग्रह

तु खबर संवाददाता
२०७८ पुष १२, सोमबार १८:२४

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लामा संचालित मिडियालाई समानुपाति विज्ञापनका लागि सहजिकरण गरिदिन उद्योग संघ मकवानपुर र उद्योग वाणिज्य संघ मकवानपुरसमक्ष आग्रह गरेको छ । सोमबार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वको टोलीले दुवै संस्थाका नेतृत्व तथा पदाधिकारीसङ्ग छलफल गरी समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरेको हो ।

अध्यक्ष गौतमले हेटौंडामा रहेका राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगले स्थानीयस्तरमा नै संचालनमा रहेका मिडियालाई बेवास्था गरी ठुला सञ्चार गृहलाई मात्रै विज्ञापन उपलब्ध गराउँदै आएकोमा अब भने समानुपातिक ढंगबाट विज्ञापन वितरण गरिनुपर्ने धारणा व्यक्त गरे । हेटौंडामा संचालित उद्योगको प्रर्वद्धन तथा प्रचारप्रसारको क्षेत्रमा स्थानीय मिडियाले योगदान पुर्याएको भन्दै उद्योगले पनि यहाँकै मिडियालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

छलफलमा उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले उद्योगहरु पनि मिडियामैत्री हुन चाहेको बताए । उनले भने ‘यहाँको औद्योगिक विकास र सञ्चार माध्यमको उत्थानका लागि उद्यमशिलतालाई उद्योगसंग जोड्न यहाँहरुको सहयोगको हामीले पनि अपेक्षा गरेका छौँ ।’ अध्यक्ष पोखरेलले यहाँका उद्योगले उत्पादन गरेका वस्तुको समाचार प्रकाशन÷प्रशारण गरिदिए त्यसले विज्ञापनको भन्दा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले कुनै उद्योगको अनुगमन तथा बन्द गर्ने भन्ने विषयमा केन्द्रित हुँदै गर्दा नयाँ खुलेका उद्योग र उत्पादित प्रोडक्टबारे पनि समाचार संकलन गरिदिन आग्रह गरे ।

संघका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले नकरात्मक समाचारको मात्रै चर्चा–परिचर्चा भैरहदाँ त्यसले मझौला उद्योगहरुलाई समेत प्रभाव पारिरहेको बताए । उनले औद्योगिक क्षेत्रभित्रका सकरात्मक समाचारलाई धेरै भन्दा धेरै प्राथमिकता मिडियाले पनि दिनुपर्ने बताए । उनले आगामी दिनमा उद्योग व्यवसाय र मिडियाबीच अन्तरसम्बन्ध कायम राख्ने विषयमा छलफल जारी रहने पनि बताए ।

त्यस्तै उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले केही समयदेखि मिडिया र संघबीच मिडियामैत्री वातावरणमा कमी देखिएको बताए । पछिल्लो समय अनलाइन मिडिया व्यापक भएकाले विज्ञापन वितरणमा समस्या भएको उनको भनाई छ । उनले एकद्वार प्रणाली भइदिए विज्ञापन बाँडफाँडमा सहजता हुने पनि जिकिर गरे । उनले मकवानपुरका संचालित उद्योगहरुलाई स्थानीय मिडियामा समानुपातिक विज्ञापन उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाए ।
छलफलमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एशोसियट तर्फका उपाध्यक्ष उज्ज्वल चौलागाँई र महासचिव दिपक उप्रेतीले स्थानिय मिडियामा समानुपातिक विज्ञापन वितरणका विषयमा आगामी बैठकमा वृहत छलफल चलाइने बताए । छलफलमा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष धुव्र अधिकारी, उपाध्यक्ष (महिला) सरला अधिकारी, सहसचिव एमपी शर्मा, सदस्यहरु बलराम पुडासैनी, रुपा गुरुङ, बिजय पौडेल, नवराज वाइवा, सिर्जना नेपाललगायत सहभागी थिए ।