राष्ट्रियसभा निर्वाचन : १२ राजनीतिक दल दर्ता
काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि १२ वटा राजनीतिक दल दर्ता भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । उक्त निर्वाचनमा ९ राजनीतिक दलले सबै प्रदेशमा र ९ राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् ।
आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने गरी दल दर्ता गराएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने गरी दल दर्ता गराएका छन् । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि शनिबारसम्म दल दर्ताका लागि समयावधि तोकेको थियो । प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था छ ।
