मकवानपुरका प्रजिअले दिए अशक्तको घरमै पुगेर नागरिकता
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता वितरण गरेका छन् । प्रजिअ पाण्डेले शनिबार मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेकी ३२ वर्षीया लिलावती गिरीलाई घरमै पुगेर नागरिकता वितरण गरेका हुन् ।
मानसिक सन्तुलन गुमाएकी गिरीलाई परिवार र आफन्तले जिल्ला प्रशासन कार्यालयसम्म पुर्याएर नागरिकता दिलाउन सम्भव नभएको भन्ने जानकारीपछि प्रमुख जिल्ला अधिकारी आफैं नागरिकता वितरणका लागि गिरीको घर पुगेका हुन् ।
प्रजिअ पाण्डेलेल मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको उपस्थितिमा गिरीलाई नागरिकता विरतण गरेकी हुन् । २०५९ सालमा माओवादी द्वन्द्वको समयमा घर नजिकै एम्बुस विष्फोट हुँदा श्रवणशक्ति गुमाउनुका साथै मानसिक सन्तुलन समेत गुमाएकी गिरीले नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सजिलो हुने गाउँपालिकाका अध्यक्ष उप्रेतीले बताए ।
