बेलायतमा एकैदिन एक लाखभन्दा बढी संक्रमित थपिए
काठमाडौं । बेलायतमा बिहिबार एकैदिन झण्डै एक लाख २० हजार संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख ६९ हजार ९२१ पुगेको छ ।
कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । यसअघिको डेल्टा भेरिएन्टको तुलनामा ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिने भएपनि यसको असर डेल्टा भेरिएन्ट भन्दा कम रहेको र अस्पताल भर्ना हुनुपर्ने अवस्था पनि न्यून रहेको अध्ययनले देखाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाका कारण १४७ जनाको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ४७ हजार ७२० पुगेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा एक हजार भन्दा बढी अस्पताल भर्ना भएका छन् । बेलायतका अस्पतालमा कोरोनाका भर्ना हुनेको संख्यामा सामान्य वृद्धि भएर आठ हजार २१६ पुगेको छ । त्यस्तै, ८४२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।
