एमाले मकवानपुर अधिवेशन : १६ गते प्रतिनिधि चयन गर्ने
मकवानपुर । नेकपा एमालेले यही पुस २३ गते देशभर जिल्ला अधिवेशन गर्दैछ । जिल्ला अधिवेशनका लागि मकवानपुरमा पनि तयारी भइरहेको छ । यही पुस २३ र २४ गते हुने जिल्ला अधिवेशनको सन्दर्भमा एमाले मकवानपुरको जिल्ला कमिटी बैठक बुधबार बसेको छ । बैठकले यही १६ गते प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले महाधिवेशन सफल पार्न विभिन्न समिति, उपसमिति निर्माण गरेको एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले बताए । मकवानपुरको १०२ वडाबाट खुला र महिला प्रतिनिधि, पालिकास्तरबाट दलित प्रतिनिधि, मजदुर तथा पेशागतबाट प्रतिनिधि इलाकाबाट खुला र महिला छनौट भएर जिल्ला अधिवेशनमा भाग लिन आउनेछन् ।
एमालेको सांगठनिक सदस्यको वडाबाट खुलामा ३० सदस्य बराबर १ जना, महिलामा २० सदस्य बराबर १ जना प्रतिनिधि भएर आउनेछन् । यस्तै दलित प्रतिनिधिको १० जनामध्ये १ जना र मजदुर तथा पेशागतबाट खुलामा १५ जना सदस्य बराबर १ जना, महिलामा १० जना बराबर १ जना प्रतिनिधि हुन पाउनेछ ।
यसअघि भूगोलबाट ३१ सदस्य भएमा २ जना प्रतिनिधि बन्न पाउने भएपनि यो पटक भने ३१ जना भएमा २ जना प्रतिनिधि बन्न नपाउने भएका छन् । २ जना प्रतिनिधि बन्न कम्तिमा पनि ५० प्रतिशत सांगठनिक सदस्य हुनुपर्ने प्रावधान भएको एमाले जिल्ला सदस्य मसान उपासकले बताए । उनका अनुसार, पुस २३ र २४ गते हुने अधिवेशनले जिल्लामा ५ जना पदाधिकारीसहित १०५ जनाको कमिटी निर्माण गर्नेछ । नेतृत्व सर्वसम्मत भए निर्वाचनमा नजाने र सर्वसम्मत हुन नसकेको खण्डमा मतदान गर्ने तयारी भएको एमाले मकवानपुरले जनाएको छ ।
