६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन क्वारेन्टिन बस्नुपर्ने

तु खबर संवाददाता
२०७८ पुष ३, शनिबार ०९:०८

काठमाडौँ । अफ्रिकी देशहरुबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिन थालेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ वटा मुलुकबाट नेपाल आउने यात्रुलाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने गरी नियम लागु गरिएको जनाएको छ ।

मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विभागले सूचना जारी गरेको छ । ती देशबाट आएका यात्रुले आरटी–पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।