आज यी स्थानमा हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार ०९:३४
file photo

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ । शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, शनिबार पनि देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी , गण्डकी प्रदेशमा तथा बाँकी पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आइतबार भने देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । हिमपात र हल्का वर्षा हुनका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।