क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौं महानगर

तु खबर संवाददाता
२०८१ बैशाख ५,बुधबार ०९:२१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर संचालन गर्ने भएको छ ।

महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । उक्त शिविर वैशाख महिना भरी सञ्चालन हुने महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले जनाएको छ ।

सो क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर संचालन हुनेछ । यस्तै, ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर हुनेछ ।

११ गते र १२ गते वडा नं. ३ महाराजगञ्जमा, १४ गते वडा नं. २६ लैनचौरमा, १६ गते वडा नं. २० भीमसेनस्थानमा, १७ गते वडा नं. २१ यंगालमा, १८ गते वडा नं. २३ ओमवहालमा शिविर हुनेछ ।

यसैगरी, वैशाख २० गते र २१ गते वडा नं. १५ मा, २४ गते वडा नं. २ लाजिम्पाटमा, २५ गते वडा नं. २४ मखनमा, २६ गते वडा नं. २२ टेवहालमा, २७ गते वडा नं. १८ नरदेवीमा, २८ गते वडा नं. १९ कंकेश्वरीमा, ३० गते र ३१ गते वडा नं. ३२ पाल्पाकोट (छाप्रे) कोटेश्वरमा शिविर हुने जनाइएको छ ।

साथै शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।