राष्ट्रिय सभा निर्वाचनको मतदानकेन्द्र तोकियो, बागमतीको हेटौंडामा
काठमाडौँ । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै प्रदेश १ मा दुई र अन्य प्रदेशमा एक–एक वटा मतदान केन्द्र निर्धारण गरेको हो । प्रदेश १ बाहेकका केन्द्रभित्रै दुई–दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि ४३२ प्रदेशसभा सदस्य तथा १४ सय ९३ पालिका प्रमुख र उपप्रमुख गरी कुल २०२५ जना मतदाता हुने आयोगले जनाएको छ। प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ।
यसैगरी प्रदेश २ को लागि महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल रहने आयोगले जनाएको छ ।
