भीमफेदीका अशक्त र जेष्ठ नागरिकलाई सहायता सामग्री

तु खबर संवाददाता
२०७८ पुष १, बिहीबार ०८:१४

मकवानपुर । भीमफेदी गाउँपालिकामा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७, कोगटे र वडा नम्बर ८, इपाका शारीरिक अपांगता भएका र ज्येष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा १३ वटा ह्वीचियर, ११ वटा बैशाखी वितरण गरिएको हो ।

७७ वर्ष भन्दा माथिका नागरिकहरुलाई सम्मान स्वरुप लौरो र एक, जोर कपडासमेत वितरण गरिएको थियो । पालिका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा सहायता सामग्री वितरण गरिएको हो । कार्यक्रममा रानाले अपागता भएका व्यक्तिको सीप क्षमतावृद्धिका लागि पालिका संधै तत्पर रहने प्रतिवद्धता व्यक्त गरिन् । शारीरिक अपांगता भएका व्यक्तिहरुको अधिकार संरक्षण गर्न पालिका लागिपरेको उनले बताइन् । उनले आफू सधै ज्येष्ठ नागरिकको सम्मानमा रहेको भन्दै ज्येष्ठ नागरिकसँग भएका अनुभवलाई लिएर अगाडि बढ्ने अठोट व्यक्त गरिन् ।

चुरेहिल अस्पतालका फिजियोथेरापिस्ट डा. सद्धाम हुसेनले ह्वीलचियर र बैशाखीको प्रयोग कसरी गर्ने भन्नेबारे जानकारी गराएका थिए । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नवराज अधिकारीलगायतको आतिथ्यता थियो। पालिकाले यसअघि ५ र ६ नम्बर वडाका अपांगता भएका व्यक्तिलाई सहायता सामग्री बितरण गरेको थियो भने बाँकी सबै बडामा छिट्टै वितरण गरिने उपाध्यक्ष रानाले जानकारी दिइन् ।