बागमती प्रदेशः नवनियुक्त मन्त्रीहरुले लिए सपथ

तु खबर संवाददाता
२०७८ मंसिर २८, मंगलवार १८:५०

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ५ मन्त्री र एक राज्यमन्त्रीले आज साँझ पद र गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाललाई सपथ गराएका हुन् ।

त्यसैगरी कृषि तथा पशुन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङलाई मुख्यमन्त्री पाण्डेले नै सपथ गराएका हुन् । मुख्यमन्त्री पाण्डेले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री र राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेशमा ११ मन्त्री र १ राज्यमन्त्री भएका छन् । मन्त्रीहरु क्रमश खड्का, दाहाल र ढकाल नेकपा माओवादी केन्द्रबाट हुन् भने नेकपा एकीकृत समाजवादीबाट हुँमागाई र मानन्धर मन्त्री नियुक्त भएका हुन् । त्यस्तै राज्यमन्त्री गुरुङ् पनि एकीकृत समाजवादीबाटै हुन् ।

यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका छन् ।

यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । बागमतीमा मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार ८ वटा मन्त्रालय फुटाएर चौध वटा मन्त्रालय बनाइएको छ ।