बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार: को– को छन् मन्त्रीको चर्चामा ?
मकवानपुर । बागमती सरकार गठन भएको महिनौँपछि आज मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकार विस्तार गर्दैछन् । आज नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट ५ जना मन्त्री र १ राज्यमन्त्री नियुक्त हुने स्रोतले बताएको छ । माओवादीबाट विशाल खड्का, घनस्याम दाहाल र रत्न ढकालको नाम मन्त्री बन्ने चर्चामा छ । माओवादीले ३ मन्त्रालयको जिम्मा पाउँदै छ । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धारा हुँमागाई बसन्त मानन्धरको चर्चा छ ।
एकीकृत समाजवादीले २ मन्त्रालयको जिम्मेवारी पाउँदै छ । भने एकीकृत समाजवादीले राज्यमन्त्री पनि पाउने स्रोत बताउँछ । राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ्को चर्चा छ । मुख्यमन्त्री पाण्डेले यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ मन्त्रालयलाई पूर्णता दिइसकेका छन् । भने आज थप ५ मन्त्रालयलाई पूर्णता दिने तयारी छ । भागबण्डा मिलाउन उनले मन्त्रालय टुक्र्याएर १४ पुर्याएका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रबाट सामाजिक विकासमन्त्री कुमारी मोक्तान, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाला भँडेल, स्वास्थ्यमन्त्री निमा लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण खनाल नियुक्त भइसकेका छन् । यसअघि राज्यमन्त्रीको चर्चामा रहेका सन्त चेपाङलाई भने पछि मात्रै नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री रहेको स्रोत बताउँछ ।
