‘ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा गहिरो चोट’

तु खबर संवाददाता
२०७८ मंसिर २७, सोमबार ०९:३३
file-photo

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा गहिरो चोट लागेको बताएका छन् । थाहा नगरपालिकास्थित वडा ११ र १२ मा आयोजित कार्यकर्ता भेलामा उनले त्यही कम्युनिष्ट आन्दोलनलाई लागेको क्षतिलाई पूर्ति गर्न आफूहरुले पार्टी पुनर्गठनको कदम चालेको स्पष्ट पारे ।

मन्त्री खतिवडाले अनेकौं आन्दोलनबाट प्राप्त उपलब्धिलाई व्यक्तिवादले सक्काउन खोजेको आरोप समेत लगाए । मन्त्री खतिवडाले खोप नलगाएका सबै जनतालाई खोप लगाउने आफ्नो जिम्मेवारी रहेको बताउँदै स्टक रहेको खोप नागरिकलाई लगाउन स्वास्थ्यकर्मीहरु खोपको डब्बा बोकेर गाउँटोल पुगेर भए पनि प्रत्येक नागरिकलाइ खोप लगाउने प्रतिवद्धता जनाए ।

उनले अब १६ हजार स्थानबाट खोप कार्यक्रम गर्ने बताउँदै पहिलो र दोस्रो खोप पूरा गरिसकेकाको निम्ति बुस्टर डोज नपाल सरकारले निःशुल्क लगाइदिने बताए । कार्यक्रममा पोलिटब्युरो सदस्य दिलकुमारी पन्त, बागमती प्रदेश सदस्य गौतमवुद्ध लामा, जिल्ला सचिवालय सदस्य ईश्वरलाल रुम्बा, डम्बर लामा, माधव तिमल्सिना, किरणमान बललगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

भेलाले थाहा–११ मा सेतो गोलेको अध्यक्षतामा ३७ सदस्यीय कमिटी तथा सुदर्शन शिकारीको अध्यक्षतामा २७ सदस्यीय युवा संघ तथा थाहा–१२ मा लीलाबहादुर आलेमगरको अध्यक्षतामा २७ सदस्यीय तथा कमिटी तथा सोम गोलेको अध्यक्षतामा २१ सदस्यीय युवा संघ गठन गरिएको छ ।