संसद बैठकमा सहभागी हुन कोरोना परीक्षण अनिवार्य

तु खबर संवाददाता
२०७८ मंसिर २६, आईतवार १६:२४
file-photo

काठमाडौं । संघीय संसदको अधिवेशन बैठकमा सहभागी हुने सांसदहरुले अनिर्वाय रुपमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठकमा सहभागी हुने सांसदहरुले एन्टिजेन विधिबाट अनिर्वाय रुपमा कोरोना परीक्षण गर्नुपर्ने जानकारी गराएको हो ।

जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा एवम् राष्ट्रिय सभाका सबै सांसदहरुको एन्टीजेन परीक्षण गर्ने जनाएको हो । यस्तै संघीय संसदका महासचिव तथा सचिवहरु, कार्याव्यवस्था महाशाखा, संसद सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानुनी परामर्श महाशाखा लगायतका सम्बन्धित महाशाखाका कर्मचारीहरु, मर्यादापालक एवम् सुरक्षाकर्मीहरुको कोरोना परीक्षण हुनेछ ।

सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । संघीय संसदको अधिवेशन यही मंसिर २८ गते दिनको २ बजेका लागि बोलाइएको छ ।