मनहरीमा समाजवादी पार्टीको युवा संघ गठन, अध्यक्षमा पुरी

तु खबर संवाददाता
२०७८ मंसिर २६, आईतवार ०८:१६

मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट युवाहरुको संगठन युवा संघ नेपाल मनहरी गाउँपालिका कमिटी गठन गरिएको छ । पार्टीको शनिबार मनहरी–९ ज्यामिरेस्थ्ति मोतीदेवी पार्कमा भएको प्रथम सम्मेलनबाट कृष्णचन्द्र पुरीको नेतृत्वमा ८३ सदस्यीय कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा नवराज थिङ, आशिष बुढाथोकी, मनोज खत्री, सचिवमा उमेश अधिकारी, कोषाध्यक्षमा पूर्णबहादुर घलान निर्विरोध चयन भएका छन् । उक्त सम्मेलन नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै सिग्देलले केपी ओलीको अराजकता, अहमता र घमण्डका कारण नेकपा एमाले बिलिन हुन लागेपछि कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा लैजान र गति प्रदान गर्नका लागि नेकपा एकीकृत समाजवादी गठन गरिएको बताइन् । लामो समयदेखि कम्युनिष्ट आन्दोलनलाई गति दिइरहेका माधवकुमार नेपालको नेतृत्वमा पुनः देशका कम्युनिष्ट धारलाई एकत्रित गराएर नयाँ बामशक्ति निर्माणमा आफूहरु लागेको उनको भनाई थियो ।

‘कम्युनिष्ट पार्टीभित्र ज्यू हजुरी प्रथाको सुरुवात गरी केपी ओलीले बुर्जुश शैली अपनाउन थालेपछि इमान्दार एमालेजनले बिद्रोह गरेर नयाँ आन्दोलनमा समाहित भएका हौँ’, केन्द्रीय सदस्य सिग्देलले भनिन् । उनले लोभीपापीहरु ओलीको भक्तिगान गाउँदै रमाउने सामान्य मतदाताहरुलाई सूर्य चिन्ह देखाएर एमालेले प्रभावित बनाइरहेको भन्दै एजेण्डा, व्यवहार, सिद्धान्त सबै हिसाबले एमाले सकिएकाले नयाँ कम्युनिष्ट आन्दोलनमा समाहित हुन आग्रह गरिन् ।

कार्यक्रमा अर्का केन्द्रीय सदस्य राजाराम स्याङ्तानले ओलीसामु लम्पसार पर्नुभन्दा बिद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्नुपरेको बताए । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव बिष्णु दाहाल, युवा संघ स्थायी कमिटी सदस्य कविन पन्त, सचिवालय सदस्य भूमिनन्द अर्याल, जिल्ला सदस्यहरु मनिला बिष्ट, बीरेन्द्र डिसी, साधुराम अधिकारी, नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठ, अनेरास्ववियुका नेता गोविन्द बर्ताैला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।