माओवादी केन्द्रको प्रदेश पदाधिकारी संख्या ९ पुग्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो । अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् ।
यस्तै, बैठकले प्रदेश समितिको आकार पनि बढाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार अब प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति रहनेछ । बैठकले पम्फा भुसालको नेतृत्वमा महिला विभाग बनाएको छ भने पार्टी प्रवेश गर्न चाहनेहरुसँग वार्ता गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको समिति बनाएको छ ।
