कांग्रेस महाधिवेशनमा काठमाडौंबाट २६६ प्रतिनिधि सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १० वटै निर्वाचन क्षेत्रबाट २६६ जना प्रतिनिधि सहभागी हुनेछ ।
जसअनुसार क्षेत्र नम्बर १ बाट २७ जना, २ बाट २७, ३ बाट २६ जना, ४ बाट २७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ५ र ६ बाट पनि २७/२७ तथा ७ बाट २६ प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ८, ९ बाट २७/७ तथा १० बाट २६ जना प्रतिनिधि सहभागी हुनेछन् ।
नेपाली कांग्रेसको महाधिवेशन काठमाडौंमा हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने केन्द्रीय महाधिवेशन अन्तरगत मंसिर २४ गते बिहान १० बजेदेखि मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । यस्तै, मंसिर २५ गते बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । मनोनयन पत्रमाथि पर्ने दाबी विरोध, दर्ता गर्ने र जाँचबुझ गर्ने समय मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म रहेको छ । त्यस उपरको निर्णय मंसिर २६ गते विहान १० बजेदेखि १२ बजेसम्म रहेको छ ।
उम्मेदवारको नामावली प्रकाशन गर्ने समय सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म रहेको छ । मनोनयन फिर्ता लिने समय २६ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म राखिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन अपरान्ह ५ बजेसम्म छ । मतदानको समय २७ गते विहान ८ बजेबाट सुरु हुनेछ । महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि)को इन्ट्री भने २१ गतेबाटै सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म कांग्रेसले ४ हजार ३१९ महाधिवेशन प्रतिनिधिको जनाको नाम इन्ट्री गरेको छ ।
मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र पुलिस क्लबमा मतदान स्थल बनाइनेछ । १४ औं महाधिवेशनका लागि २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स राखिने छ । सभापति, पदाधिकारी, खुला केन्द्रीय सदस्य, प्रदेशबाट निर्वाचित हुने सदस्य, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गता लागि छुट्टाछुट्टै मतपत्र बनाउनेछ ।
