राष्ट्रियसभा सदस्य निर्वाचन : यस्तो छ कार्यतालिका

तु खबर संवाददाता
२०७८ मंसिर २१, मंगलवार १५:१३

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी निर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन प्रयोजनका लागि आगामी पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने समय तोकिएको छ ।

निर्वाचन कार्यक्रम अन्तरगत पुस १७ गते निर्वाचन अधिकृतको कार्यलयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशन नामावलीमा नाम छुटेकाहरुले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएका व्यक्तिहरुले आफ्नो नाम, थर, उमेर, पद सच्याउन दिने तथा प्रकाशिन भएका नामावलीमा उल्लेख भएका मतदाताको नाममा उजुरी दिने कार्यक्रम रहेको छ ।

यस्तै, पुस १८ र १९ गते निवेदन तथा उजुरीउपर छानविन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यसैगरी पुस २० गते उम्मेदवारी दर्ता गर्ने, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।