कांग्रेस लुम्बिनीको सभापतिमा संस्थापन इतर समूहका पुन विजयी
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् । संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गर्दै पुन सभापतिमा विजयी भएका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गर्दा शाहले ७६७ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा कुल १ हजार ६ सय ३१ मत खसेको थियो । सभापतिमा निर्वाचित पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् । पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् । दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ (गुल्मी) र संस्थापन पक्षका राजु खनाल (दाङ) विजयी भएका छन् । यसैगरी, महामन्त्रीमा विक्रम खनाल (नवलपरासी पश्चिम) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) विजयी भएका निर्वाचन समितिका सदस्य अधिवक्ता जीवनारायण अधिकारीले जानकारी दिए ।
यस्तै, महिला सह–महामन्त्रीमा निमा गिरी विजयी भएकी छन् । संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गर्दै उनी सह–महामन्त्री पदमा विजयी भएका हुन् । यसैगरी, खुल्ला सह–महामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे विजयी भएका छन् । शनिबार भएको मतदानको परिणाम आउन दुई दिन लागेको हो ।
