महालक्ष्मी विकास बैँकद्वारा गणेश टोल विकास संस्थालाई डस्टबिन सहयोग

तु खबर संवाददाता
२०७८ मंसिर १८, शनिबार १८:५३

मकवानपुर । महालक्ष्मी विकास बैँक कमाने शाखाले आज फोहोर संकलनको लागि हेटौंडा ११ स्थित टोल विकास संस्थालाई डस्टबिन ( फोहोर हाल्ने भाँडो )  सहयोग गरेको छ । स्थानिय विष्णु कप्रौलाको पहलमा गणेश टोल विकास संस्थालाई २० थान ठूलो डस्टबिन बैंकले सहयोग गरेको हो । हेटौँडा उपमहानगरपालिका ११ का कार्यबाहक वडा अध्यक्ष रामचन्द्र न्यौपानेले टोल विकास संस्थाको अध्यक्ष तारा कप्रौलालाई सो सहयोग स्वरुप प्राप्त डस्टबिन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा, शान्त र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने बताउँदै वडाले टोल विकासलाई सक्दो सहयोग गरिरहेको बताए । कार्यक्रममा महालक्ष्मी विकास बैंक कमाने शाखा प्रमुख रोशन सेन गुप्ता, बैंकका कर्मचारीहरु सलिना मानन्धर, सुदिप खनाल, टोल विकास संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।