फरेष्टीमा गुञ्जियो नाराः ‘आमा दिदी दाजुभाई, भोट हालौँ बानियाँलाई’
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा जारी प्रदेश अधिवेशनमा मतदान सुरु हुँदै लाग्दा कांग्रेसका नेता तथा कार्यकर्ताले इन्द्र बानियाँको प्यानलमा मत माग्दै नारा लगाएका छन् । मकवानपुर सभापति एवम् प्रदेश संसदीय दलका नेता बानियाँको पक्षमा मकवानपुरसहित प्रदेशका कार्यकर्ताहरुले नारा लगाएका हुन् ।
फरेष्टी मुल गेटमा नेता तथा कार्यकर्ताहरुले ‘ आमा दिदि दाजुभाई, भोट हालौँ बानियाँलाई, बागमती प्रदेश के भन्छ, इन्द्र बानियाँ ले भन्छ, इन्द्र बानियाँ हाइहाइ, अरु सबै दाजुभाई’ लगायतका नारा लगाउँदै मादल बजाएर नाचगाँन गरिरहेका छन् । कार्यकर्ताहरुले छाता टोपी र टिर्सटमा उम्मेदवारको लागि प्रचार सामग्री राखी मत मागिरहेका छन् ।
बागमती प्रदेशको सभापति पदमा बानियाँले संस्थापन पक्षबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्व सभापति जगदिश्वर नरसिं केसी र नेता कृष्ण सिटौला प्यानलबाट भीमसेन दास प्रधानले सभापति पदमा उम्मेदवारी दिएका छन् । मतदान सुरु हुनै लाग्दा मतदान परिसरका सबै प्रचार सामग्री हटाइएको छ भने नेता कार्यकर्ताले मुल गेटमा बसेर प्रचारप्रसार भने गरिरहेका छन् ।
