परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न नेपालको आग्रह
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन् । राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइ राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको गतिलाई अगाडि बढाउन सुझाव दिएका हुन् ।
उनले नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोही अनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्ने बताए । अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई सचेत गराए ।
‘‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइ राख्नोस् । तर, राष्ट्रियता नेपाली जनताको जुन भावना हो । त्यो भावनालाई ठिक ढंगले आत्मासात गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस् ।’ उनले भने, ‘परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं। अगाढि बढिसक्यो इतिहास । इतिहास पछाडि जाँदैन अब । सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौं । प्रतिगमनतर्फ कोही नलागौं ।’
