मानवसेवा आश्रमद्वारा ६२७५ जनाको उद्दार

तु खबर संवाददाता
२०७८ मंसिर १५,बुधबार ०८:२५

मकवानपुर । विभिन्न कारणले सडकमा कष्टपूर्ण जीवन बिताउन बाध्य रहेकाहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रम संस्थाले हालसम्म ६ हजार २ सय ७५ जनाको उद्दार गरेको छ । २०६९ साल भदौ १३ गते हेटौंडामा स्थापना भएको यस संस्थाले ७ वटा प्रदेशको १७ जिल्लामा रहेको २३ वटा सेवा केन्द्रमार्फत ६ हजार २७५ जनाको उद्दार गरेको हो । तीमध्ये २ हजार ४ सय २५ जनालाई परिवारमा पुनर्मिलन गराएको छ भने १ हजार ६ सय ६७ जना उपचार पश्चात स्वेच्छाले आश्रम छोडेर गएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

उनका अनुसार, आश्रमको संरक्षणमा रहेकै अवस्थामा ६ सय ३४ जनाको मृत्यु हुँदा ३ सय ५४ जनालाई सामुदायिक पुनस्र्थापना गरिएको छ । देशभरको आश्रममा एक हजार ५६७ जना आश्रित रहेका छन् । मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा हालसम्म १ हजार ३ सय ५५ जनाको उद्दार गरिएको छ भने ७ सय ३६ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । उपचार पश्चात स्वेच्छाले ३ सय ३६ जना घर फर्किएका छन् र १ सय ४७ जनाको आश्रममा निधन भएको छ । सामुदायिक पुनस्र्थापना ४३ जनाको भएको छ । हाल हेटौंडा आश्रममा १ सय ६९ जना आश्रित छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा आश्रमको कूल आय २३ करोड ९६ लाख ७९ हजार ३ सय ९५ र कुल व्यय १२ करोड ७८ लाख ५८ हजार २ सय २१ र बचत ११ करोड १८ लाख २१ हजार १ सय ७४ रहेको आश्रमले जनाएको छ । मानसेवा आश्रमले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त विवरण सार्वजनिक गरेको हो । हेटौंडा–५ को अब्बलडाँडाबाट घर भाडामा लिएर सेवा सुरु गरेको आश्रमको अहिले लामसुरेधापमा सुविधासम्पन्न भवन निर्माण समेत भैसकेको छ । डेढ बर्षभित्र आश्रमको शाखा रहेको १७ वटै जिल्लामा भवन निर्माण गर्ने, वि.सं २०८१ भित्र कम्तिमा ५० करोडको अक्षयकोष स्थापना गर्ने र २०८२ बैशाख १ गते नेपाललाई सहयोगापेक्षी मानवमुक्त मुलुक घोषणा गर्ने योजना रहेको आश्रमका अध्यक्ष अधिकारीले जानकारी दिए ।