उपाध्यक्षमा भुसाल पराजित, शाक्यको सबैभन्दा धेरै मत

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १६:३४

चितवन । नेकपा एमालेको उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन् । उनी ७३५ मतका साथ पराजित भएका हुन् । ६ जना उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेकामध्ये भुसालले सबैभन्दा कम मत प्राप्त गरेका हुन् । यस्तै, सोही पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य भने सबैभन्दा धेरै मत प्राप्त गरी विजयी भएका छन् ।

उपाध्यक्षमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएकी हुन् । उनले १ हजार ९ सय ७६ मत प्राप्त गरेकी हुन् । यस्तै, सुरेन्द्र पाण्डेले १ हजार ९ सय ३५ मत, रामबहादुर थापा बादलले १ हजार ७ सय ६८, विष्णु पौडेलले १ हजार ८ सय ५८ मत, युवराज ज्ञवालीले १ हजार ८ सय ४३ मत र सुवास नेम्वाङले १ हजार ८ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन । उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्दसत्रमा पेस गरेका नामहरू हुन् ।

ओलीले बन्दसत्रमा आफुसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । यसैगरी, पार्टीको अध्यक्षमा केपी ओली विजयी भएका छन् । मतदानको मत परिणाम अनुसार ओली भारी मतले अध्यक्ष पदमा विजयी भएका हुन् । ओलीले प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै अध्यक्षमा निर्वाचित बनेका हुन् । ओलीले १ हजार ८ सय ८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरेका छन् । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।