नेकपा एमाले केन्द्रीय समितिको पहिलो बैठक सौराहामा नै बस्ने

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १५:२५

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा नै बस्ने भएको छ । पार्टीका नेता विष्णु रिजालका अनुसार, मंगलबार निर्वाचन समितिले अन्तिम मतपरिणाम दिएपछि नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामा नै बस्ने भएको हो । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार विहान मतदान भएको थियो ।

बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको थियो । विद्युतीय भोटिङ मेसिनमार्फत भएको निर्वाचनको मतपरिणाम मंगलबार नै आउने निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । मतगणना सुरु भइसकेको छ । दुई हजार १ सय ५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको थियो । अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच निर्वाचन भएको थियो भने अन्य केही पदाधिकारीहरुमा पनि निर्वाचन भएको थियो ।