सर्लाहीमा कांग्रेसको वडा अधिवेशनस्थलमा झडप, मतदान अधिकृतसहित ५ जना घाइते
सर्लाही । सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज झडप भएको छ । हिजो सोही अधिवेशनका क्रममा गोली चलेको थियो । आज पुनः विवादले उग्र रुप लिएपछि झडप भएको हो । उक्त झडपमा परी निर्वाचन अधिकृतसमेत ५ जना घाइते भएका छन् । सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो ।
सो झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिएका छन् । वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपमा परेर झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले प्रजिअ खतिवडाले बताए । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको उनले बताए । यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।
