कुटपिटबाट भण्डारीकोे मृत्यु

रासस
२०७८ मंसिर १२,आईतवार ०९:४३
File Photo

बझाङ । जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ । घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ
काठमाडौं । सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्रि वितरण गर्न लागेको अवस्थामा जिउँदो सुन कछुवासहित ४ जनालाई पक्राउ गरेको हो । जिउँदो सुन कछुवाको बिक्री वितरण हुन लागेको सूचनाका आधारमा पुगेको प्रहरीले काठमाडौंको सोल्टीमोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन् । उनीहरूको साथबाट नगद ३६ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले महङ्गो मूल्यमा उक्त सुन कछुवा बेच्न लागेको स्वीकार गरेका छन् । पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।