बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँको उम्मेदवारी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आसन्न मंसिर १६ र १७ गते हुने हेटौंडामा हुने प्रदेश अधिवेशनमा आफ्नो उम्मेदवारी सभापति पदमा रहने बताएका छन् । कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको उनले बताए ।
‘केवल निर्वाचनको लागि मात्र मेरो एजेण्डा होइन, बागमती प्रदेशलाई समृद्ध बनाउन ‘मास्टरप्लान’ बनाएर अघि बढ्ने छु ।’ उनले भने । एकपटक प्रदेश सभापति भएर काम गर्ने मौका दिन उनले प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा अनुरोध गरेका छन् । उनले भने ‘नेपाली कांग्रेसको इतिहासको सम्मान गर्दै नेताहरुको त्याग धैर्यता र निष्ठालाई शीरोपर गर्दै संविधानको रक्षा एवम् समृद्ध प्रदेश निर्माणका लागि मेरो उम्मेदवारी हो ।’
उनले आफु मकवानपुरको सभापति र प्रदेश संसदीय दलको नेताका रुपमा काम गरिसकेकोले अब प्रदेश सभापति भएर १३ जिल्लाको विकास र समृद्धि एवम् कांग्रेसको हितमा काम गर्ने योजना रहेको उनले सुनाए । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित बानियाँ २०७४ सालको प्रंतिनिधिसभा एवम् प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) बाट एमाले उम्मेदवार राजाराम स्याङ्तानलाई हराउँदै विजयी भएका थिए ।
