जिसस महासंघ बागमतीको पहिलो बैठक सम्पन्न

तु खबर संवाददाता
२०७८ मंसिर १०,शुक्रबार ०९:०२

चितवन । जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश कमिटीको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिसस महासंघको तेस्रो राष्ट्रिय परिषद बैठक पछिको पहिलो बैठक चितवनमा सम्पन्न भएको हो । बैठकले तेस्रो राष्ट्रिय परिषदबाट निर्वाचित जिसस महासंघ राष्ट्रिय कमिटीका पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बागमती प्रदेश सुशासन केन्द्रलाई जिसस पदाधिकारीका लागि क्षमता विकास र स्वमुल्याङ्कन सम्बन्धी तालिम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष खुलालले जानकारी दिए । साथै बैठकमा विभिन्न जिल्लाका प्रमुखहरुले आ–आफ्नो जिल्लामा भएका कामहरुको बारेमा जानकारी गराएका थिए । बैठकमा जिसस महासंघका प्रवक्ता एवम् जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, विभिन्न जिल्लाका जिसस प्रमुख/उपप्रमुख, सदस्यहरू, महासंघका केन्द्रिय सदस्यहरु र प्रदेश सदस्यहरुको उपस्थिति रहेको थियो ।