एमाले महाधिवेशन : मकवानपुरका ६ जनाले उम्मेदवारी दिने

तु खबर संवाददाता
२०७८ मंसिर ९,बिहीबार ०९:०६

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको केन्द्रीय सदस्य पदका लागि मकवानपुरका ६ जनाले उम्मेदवारी दिने भएका छन् । एमालेको केन्द्रीय पदाधिकारीसहितको पदमा नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेको क्रममा मकवानपुरका ६ जनाले पनि केन्दीय पदका लागि उम्मेदवारी दिने भएका हुन् ।

हालसम्म राष्ट्रियसभा सदस्य रामचन्द्र राई, संघीय सांसद कृष्ण दाहाल, सुवास चन्द ठकुरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । यसैगरी, केन्द्रीय सदस्यमा मकवानपुरबाट एमाले बामगती प्रदेशको सहइन्चार्ज तथा केन्द्रीय सदस्य डोरमणि पौडेल, एमाले प्रदेश कमिटीको अनन्त पौडेल, रघुनाथ खुलाललागयतले उम्मेदवारी दिने सम्भाजना रहेका छन् ।

भोलि (शुक्रबार) चितवनको नारायणी नदीको किनारमा महाधिवेशनको उद्घाटन हुने र पर्यटकीय क्षेत्र सौराहामा बन्दसत्र हुनेछ । एमालेको १० औं महाधिवेशनमा मकवानपुर जिल्लाबाट १७ जना महाधिवेशन प्रतिनिधि बनेर चितवन जाँदैछन् । मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्रबाट ८÷८ जना र एक जना दलित महाधिवेशन प्रतिनिधि बनेर जाने भएका हुन् ।

यस्तै, बुधबार एमालेले मकवानपुरका रघुनाथ खुलाल र भारती पाठकलाई पनि महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको छ । महाधिवेशन प्रतिनिधि बनेर जान व्याक भएका प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाललाई एमालले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।