अब हेटौंडामा ट्रिओ इलेक्ट्रिक अटो

तु खबर संवाददाता
२०७८ मंसिर ९,बिहीबार ०८:३२

मकवानपुर । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रिओ नामक इलेक्ट्रिक अटो हेटौंडामा सार्वजनिक गरेको छ । महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी) का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले बुधबार एक कार्यक्रमबीच हेटौंडाको चौकीटोलमा उक्त अटो सार्वजनिक गरेको हो ।

कार्यक्रम आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लिका अध्यक्ष राजेन्द्र बटाजुको अध्यक्षता तथा यातायात व्यवस्था कार्यालय हेटौंडाका प्रमुख सुरेशकुमार चापागाईको प्रमुख अतिथ्यतामा भएको हो । ८ लाख ४० हजार सोरुमको मूल्यमा विद्युतीय अटो खरिद गर्न सकिने बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्ने छन् । विद्युतबाट सञ्चालन हुने भएकाले आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने उनको भनाई छ ।

सो कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक दयाराम गौतम, कम्पनीका प्रतिनिधि हिमान्सु अग्रवाल, अग्नि इनर्जी प्रालिका विक्री प्रवद्र्धक प्रमोद भण्डारीलगायत अटो चालकको उपस्थित रहेको थियो । महिन्द्रा ट्रियो भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको छ ।