एमाले महाधिवेशन : मकवानपुरबाट २ हजार मोटरसाइकलसहितको र्‍याली हुने

तु खबर संवाददाता
२०७८ मंसिर ६, सोमबार १६:१६

मकवानपुर । यही मंसिर १० गते चितवनको नारायणगढमा हुने नेकपा एमालेको १० औँ राष्ट्र्रिय महाधिवेशनको उद्घाटन सत्रको लागि मकवानपुरबाट २ हजार मोटरसाइकल, ५ सय सानो सवारी तथा २ सय वटा बससहितको र्याली मकवानपुरबाट लगिने भएको छ । महाधिवेशनको लागि एमाले मकवानपुरले निर्माण गरेको प्रचार समितिले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचार समितिका संयोजक नविन सिग्देलले मकवानपुरबाट ब्यापक जनसहभागिता रहने बताए ।

महाधिवेशनको प्रचारको लागि एमाले मकवानपुरको विभिन्न भातृ संगठन तथा पार्टी कमिटिले मकवानपुरको रातोमाटेबाट मनहरीसम्म दुई दर्जन भन्दा धेरै स्वागत गेट निर्माण गर्ने, हेटौँडामा डिजिटल डिसप्लेमार्फत प्रचार गर्ने, तुल, ब्यानर र झण्डाले हेटौँडा क्षेत्रलाई सिंगार्ने काम हुने सिग्देलले बताए । महाधिवेशनको लागि मकवानपुरको सबै स्थानीय तहमा जनपरिचालन समिति निर्माण गरिएको र सबै स्थानीय तहले महाधिवेशनको उद्घाटन सत्रमा हजारौ जनसहभागिता गराउने तयारी भैरहेको उनको भनाई थियो ।

जनपरिचालनको लागि जिल्ला स्तरबाट एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल संयोजक र एकालाल श्रेष्ठ सचिव रहेको जनपरिचालन समिति समेत निर्माण गरिसकेको छ । मकवानपुरबाट विभिन्न भेषभुसासहितको सांस्कृतिक झाकिको लागि पनि समिति निर्माण भएको छ । छिमेकी जिल्लामा हुने महाधिवेशनलाई भब्य बनाउनको लागि एमालेको सबै निकायहरु लागि परेकेो बताउँदै उनले महाधिवेशनलको प्रचारको लागि मंसिर ७ गते हेटौंडामा बृहत्त मोटरसाईकल र्यालीको आयोजना समेत हुने बताए । जनपरिचालनको हिसाबले छिमेकी जिल्लामा हुने महाधिवेशन थप महत्वपूर्ण भएको भन्दै उनले आफुरुले तयारीलाई ब्यापक बनाएको समेत उनको भनाई छ ।