अपडेट– क्षेत्र नम्वर २ (क) को निर्वाचन सकियो, मतगणना सुरु

तु खबर संवाददाता
२०७८ मंसिर ३, शुक्रबार १७:३९

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज मकवानपुरमा प्रदेशसभा अधिवेशन जारी छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) को निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरी मतगणना सुरु भएको हो ।
थाहा नगरपालिकाको पालुङस्थित जेसीज भवनमा अधिवेशन भएको हो ।

यसअघि मकवानपुर कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा सभापति पदमा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भइसकेका छन् । सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सचिव पदमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् ।

सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका हुन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी निर्विरोध भएका छन् । अन्य पदमा भने अरुको पनि उम्मेदवारी दर्ता भएकोले निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत गणेशप्रसाद हुमागाईले जानकारी दिए ।

क्षेत्र १ को प्रदेशसभा (ख) को निर्वाचन सम्पन्न भइ मतगणना सुरु भएको छ । क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को भने मतदान जारी रहेको जनाइएको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को अधिवेशन बसामाडी जेसीजको भवनमा भइरहेको छ ।

अधिवेशनले ४ वटै निर्वाचन क्षेत्रबाट सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ जन ाचयन गर्नेछ । त्यस्तै खुल्ला, महिला, समावेशी, दलित आदीवासीसमेतबाट जम्मा १८ जना सदस्य चयन हुनेछन् । निर्वाचित सदस्यबाट कार्यसमितिले कोषाध्यक्ष मनोनयन गर्ने जनाइएको छ ।