हेटौंडामा सवारी दुर्घटना, रिजालको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर १, बुधबार ०७:५०
सांकेतिक तस्वीर

मकवानपुर । बोलेरो गाडिको ठक्करबाट मकवानपुरका एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ हनुमानगेट नजिकै पथलैयाबाट हेटौंडातर्फ आइरहेको ना ३ च ११९३ नम्वरको भैंसी बोकेको बोलेरो गाडिले आज राति १२ः४५ बजेको समयमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३४ प ६०४४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट मोटरसाइकल चालक कैलाश गाउँपालिका वडा नम्वर ४ कालिकाटार निवासी २४ बर्षीय अबिरल रिजाल घाइते भएका थिए । उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल ल्याइएको भएपनि ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

मृतक रिजालको शव पोष्ट मार्टमको लागि अस्पतालको शव गृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मकवानपुरमा पछिल्लो समय दुर्घटना बढीरहेको छ । साँघुरो सडक, ट्राफिक नियमको उलंघन, चालकले आराम नपाउनु, चालकले मापसे सेवन गर्नुलगायतका कारणबाट दुर्घटना बढीरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।