१२२ किलो गाँजासहित मकवानपुरका मुक्तान पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १२२ किलो लागूऔषध गाँजासहित एक जना पुरुषलाई आज बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, मुक्तानलाई विशेष सूचनाका आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ९ जयसिंहस्ति पूर्वपश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो । सो सडकखण्डमा शंकास्पद अवस्थामा बसिरहेका उनलाई सोधपुछ गरी सामान चेकचाँज गर्दा उक्त परिणामको गाँजा बरामद भएको र निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।