मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मकवानपुर । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । सोमबार मत विभाजनमा विश्वासको मतको पक्षमा ५९ सांसदले मत दिएका हुन् । त्यस्तै विपक्षमा ४३ सांसदले मत दिएका छन् भने २ सांसद तटस्थ रहेका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभामा पेश गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रदेशसभाको विश्वास रहेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका हुन् । नेकपा एमाले र विवेकशील साझा पार्टीका सांसद्ले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ ।
१०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा बैठकमा १०४ सांसद थिए । प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमाया घले अनुपस्थित रहे ।
पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गएको कात्तिक ४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेबाट मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसंगै राजीनामा दिएकी थिइन् । शाक्यको राजीनामापश्चात पाण्डे चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । बागमतीमा सरकार टिकाउन ५५ सांसदको आवश्यक पर्दछ । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ ।