बागमतीमा नेमकिपाले भन्यो –दलहरूको हानथाप र कुर्सीको तानातानमा सहभागि हुदैनौँ

तु खबर संवाददाता
२०७८ कार्तिक २२, सोमबार १७:२७

मकवानपुर । नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले आफूहरु शासक दलहरूको हानथाप र कुर्सीको तानातानमा सहभागि नहुने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि धारणा राख्दै उनले शासक दलहरु बीचको झगडाको मूल कारण के हो भन्नेबारे अझै बाहिर आउन नसकेको बताए ।

अहिले देखिएको भाँडभैलोमा सत्ता पक्षकै माननीय पनि सन्तुष्ट हुन नसकेको देखिएको भन्दै उनले पूँजीवादी दलको तानातान, पदको लडाइँबाट आफूहरु टाढै रहने बताए । आफ्नो पार्टीले विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ रहने नीति लिएको पनि उनले जानकारी दिए । मुख्यमन्त्री पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको नेता पाण्डे ४ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको गरी कूल ५९ जना सांसदको साथ रहेको छ । प्रदेशमा कूल १०९ जना सांसद रहेका छन् । पाण्डेलाई सरकार टिकाउन ५५ जना सांसदको साथ आवश्यक पर्दछ ।