मन्त्रालय विभाजन गरेर फजुल खर्च बढाउने मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौँ – नेता पौड्याल

तु खबर संवाददाता
२०७८ कार्तिक २२, सोमबार १७:२१

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर १२/१५ वटा बनाउन लागेको भन्दै मन्त्रालय बढाउने कार्य जनताको हितमा नहुने बताए ।

संविधानले मन्त्रालय विभाजन गर्न छुट दिए पनि फजुल खर्च बढाउने भएकाले यस्तो कदममा आफूले साथ दिन नसक्ने भन्दै उनले विवेकशील साझा पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने उनले स्पष्ट पारे । प्रदेश सरकारले साविक मन्त्रालयहरू फुटाइ जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकोले हाम्रो संसदीय दलको बैठकले मन्त्रालय फुटाउने कार्यको औचित्य पुष्टि हुन नसक्ने ठहर गरेको छ, उनले भने ।

भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनिक संरचना नै अस्तव्यस्त हुने र प्रदेश कोषमा अनावश्यक रूपमा व्ययभार थपिने भएकाले मुख्यमन्त्री ज्यूलाई हामी विश्वासको मत दिँदैनौ, उनले भने । गएको कात्तिक ४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज विश्वासको मत लिँदै छन् । कूल १०९ जना प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार टिकाउन ५५ मत आवश्यक रहँछ ।

संयुक्त चार दलीय गठबन्धनको ५९ सांसदको साथ पाएका पाण्डेले विश्वासको मत पाउने देखिएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री भएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसंगै राजीनामा दिएकी थिइन् । एमालेमा कूल ५६ सांसद रहेकोमा १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा खुम्चिन पुगेको थियो ।