अलोकतान्त्रिक र असंवैधानिक गठबन्धनको मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौँ – प्रमुख सचेतक निरौला

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारसँग प्रदेशलाई समृद्ध बनाउने योजना नभएकोले विश्वासको मत नदिने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले जनताले विश्वास गरेको पार्टी एमाले नै रहेको दाबी गरे ।
नेपाललाई समृद्ध बनाउने, नेपालीलाई खुशी बनाउने कुरा अवरुद्ध भएको उपजस्वरुप नै आज सरकार परिवर्तन भएको उनको भनाई छ । मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दा प्रदेशलाई समृद्ध बनाउने खाका के हो भन्नेबारे प्रदेशसभामा प्रस्तुत नै नभएको पनि निरौलाले बताए । उनले सत्तारुढ गठबन्धन अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाए ।
मुख्यमन्त्री पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको नेता पाण्डे ४ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको गरी कूल ५९ जना सांसदको साथ रहेको छ । प्रदेशमा कूल १०९ जना सांसद रहेका छन् । पाण्डेलाई सरकार टिकाउन ५५ जना सांसदको साथ आवश्यक पर्दछ । गठबन्धनको ५९ सांसदको साथ पाएका पाण्डेले विश्वासको मत पाउने देखिएको छ ।