संविधानको रक्षा तथा पूर्ण कार्यान्वयन र संघीयता जोगाउन हामीले गठबन्धन बनाएका हौँ – नेता जम्कट्टेल

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दावी गर्दै गठबन्धनको तर्फबाट नियुक्त भएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आफ्नो दलको तर्फबाट विश्वासको मत दिने बताएका छन् ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन सबैसमक्ष आग्रह गरे । उनले नेकपा एमाले सबैभन्दा असक्षम पार्टी भएको पनि दाबी गरे । उनले पार्टी सञ्चालन गर्न, सरकार सञ्चालन गर्न एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली असक्षम भएको बताए । आफूसँग जनमत रहेको भनेर एमालेले दाबी गर्नुको कुनै अर्थ नरहेको उनले बताए । केपी ओलीले र नेकपा एमालेले नसकेर नै विभिन्न प्रदेश र संघमा समेत एमालेले सरकारको नेतृत्व गुमाएको बताए ।
मुख्यमन्त्री पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको नेता पाण्डे ४ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको गरी कूल ५९ जना सांसदको साथ रहेको छ । प्रदेशमा कूल १०९ जना सांसद रहेका छन् । पाण्डेलाई सरकार टिकाउन ५५ जना सांसदको साथ आवश्यक पर्दछ । गठबन्धनको ५९ सांसदको साथ पाएका पाण्डेले विश्वासको मत पाउने देखिएको छ ।