भ्रम सिर्जना गरेर सत्ताको आयु लम्ब्याए पनि अन्ततः एमालेको असलियत सबैले बुझे– नेता बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले चार दलीय गठबन्धनको संयुक्त प्रयासबाट बनेको वर्तमान सरकारले गरिब दुःखी, निमुखा र आवाज विहिनहरुको आवाज बनेर काम गर्ने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि धारणा राख्दै नेता बानियाँले यो सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशका १ सय १९ वटै स्थानीय तहका विद्यार्थीलाई निःशुल्क प्राविधिक विषय पढाउने निर्णय गरेकोसमेत स्मरण गरे ।
उनले नेकपा एमालेले जनतामा भ्रम सिर्जना गरेर सत्ताको आयु लम्ब्याए पनि अन्ततः एमालेको असलियत सबैले बुझेको बताए । उनले सत्तारुढ गठबन्धनको बचाउ पनि गरे । गठबन्धनले संघीयता, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने उनको भनाइ छ । जनअभिमतलाई स्वीकार गर्न नसकेका कारण एमालेले यो अवस्था झेल्नु परेको उनले बताए ।
वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रमुख प्राथमिकता दिने र समुन्नत प्रदेश निर्माण गर्ने उनले बताए । असंवैधानिक र अलोकतान्त्रिक गतिविधि गरेर सरकारबाट बर्हिगमन भएकाहरुलाई जनताले आगामी निर्वाचनमा उनीहरुको हैसियत देखाइदिनेसमेत बानियाँले बताए । बानियाँले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन सबैसमक्ष आग्रह गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको नेता पाण्डे ४ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको गरी कूल ५९ जना सांसदको साथ रहेको छ । प्रदेशमा कूल १०९ जना सांसद रहेका छन् । पाण्डेलाई सरकार टिकाउन ५५ जना सांसदको साथ आवश्यक पर्दछ । गठबन्धनको ५९ सांसदको साथ पाएका पाण्डेले विश्वासको मत पाउने देखिएको छ ।