मुख्यमन्त्री पाण्डेद्वारा संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् । सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरे ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
सोही क्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले लामो समयसम्म सरकारको नेतृत्व गर्नेहरुबाट जनताको हितका लागि कुनै पनि काम हुन नसकेको र आफ्नो नेतृत्वमा बागमती प्रदेशले काँचुली फेर्ने भन्दै उनले आफुलाई विश्वासको मत दिन आग्रह गरे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने बताए । उनले प्रदेशको हैसियत माथि उठाउन, प्रदेशसभा सदस्यहरुको स्वाभिमान बढाउन आफूले ध्यान दिने बताए ।
नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको नेता पाण्डे ४ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको गरी कूल ५९ जना सांसदको साथ रहेको छ । प्रदेशमा कूल १०९ जना सांसद रहेका छन् । पाण्डेलाई सरकार टिकाउन ५५ जना सांसदको साथ आवश्यक पर्दछ । गठबन्धनको ५९ सांसदको साथ पाएका पाण्डेले विश्वासको मत पाउने देखिएको छ ।