यस्तो छ बागमती प्रदेशसभा बैठकको कार्यसूचि

तु खबर संवाददाता
२०७८ कार्तिक २२, सोमबार १५:२६

मकवानपुर । कार्य व्यवस्था परामर्श समितिको भर्खरै सम्पन्न बैठकले आजै बस्ने प्रदेशसभाको बैठकको कार्यसूचि तय गरेको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावको मत विभाजन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिएका छन् । प्रदेशसभा बैठकको सुरुवातमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त केही पत्रहरु वाचन हुने जनाइएको छ ।

त्यस लगत्तै प्रदेशसभा बैठकमा नेपाली काँग्रेस बागमती प्रदेशका सचेकत छिरिङ दोर्जे लामाको संयोजकत्वमा तयार पारिएको हस्ताक्षरसहितको मत विभाजन कार्यविधि संसद्मा पेश हुनेछ । सदनबाट उक्त कार्यविधि पास भएपछि मुख्यमन्त्री पाण्डेले प्रदेशसभा सदस्यसमक्ष विश्वासको मत दिन आह्वान गर्नेछन् । सो पश्चात बैठक दलगत रुपमा मुख्यमन्त्री पाण्डेको विश्वासकोे मत सम्बन्धी प्रस्तावमाथि छलफल प्रारम्भ हुनेछ । भने त्यस लगत्तै मत विभाजनको प्रक्रिया सुरु हुनेछ ।

बागमती प्रदेशमा कूल १०९ जना सांसद् रहेका छन् । सरकार टिकाउन मुख्यमन्त्री पाण्डेलाई ५५ मत आवश्यक रहन्छ । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता रहेका पाण्डेलाई ४ दलीय गठबन्धनको ५९ जना सांसदको समर्थन रहेको छ । नेकपा एमालेबाट मुख्यमन्त्री नियूक्त भएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि उनले राजीनामा दिएकी थिइन् । गठबन्धनको तर्फबाट पाण्डे कात्तिक ४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।