हेटौंडाको एक हेल्थ केयर सेन्टरमा आगोलागी, १० लाखको क्षति

तु खबर संवाददाता
२०७८ कार्तिक १४, आईतवार १८:१२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित एक हेल्थ केयर सेन्टरमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ । आज (आइतबार) बिहान ८ बजेको समयमा सुभाष लामाको घरमा पंकज दास बानियाँले संचालन गरेको हेल्थ केयर सेन्टरमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागी हुँदा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, केयर सेन्टरमा आगलागी हुँदा करिब १० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । उक्त आगो वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक र प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो ।