हेटौंडाका नगरकोटी प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले तोकिएको भन्दा बढी भाडा लिई अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बस्ने प्रसान्स नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, काठमाडौं पुर्याइदिन्छु भनि यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिई अभ्रद्र व्यवहार गरेको आरोपमा आज (बुधबार) पक्राउ गरेको हो । नगरकोटीलाई पक्राउ गरी बढी भाडा फिर्ता गरी आवश्यक कारवाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बलात्कार मुद्दाका फरार युवक पक्राउ
काठमाडौं । बलात्कार मुद्दाका फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ घर भएका २९ वर्षीय रोहन विक भन्ने रोहन श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले २०७२ असार २६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा एक युवतीलाई बलात्कार गरेका थिए ।
युवतीलाई फकाएर कागेश्वरी मनहरा–७ स्थित एउटा गेष्ट हाउसमा लगेर उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सो मुद्दामा उच्च अदालत पाटनले २०७५ जेठमा उनलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनलाई सिन्धुपाल्चोकको सिपाघाटबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सिआइबीले जनाएको छ ।
