दुर्घटनामा ८ जना घाइते, एकको अवस्था गम्भीर

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार १५:३४

दाङ । दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आज बिहान प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी लमही नगरपालिका–७ दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेहरुमा १७ वर्षीया मीना घर्ती, १५ वर्षीया रबिना घर्ती, १० वर्षीय विजय घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सीराम न्यौपाने रहेका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लमहीमा नै उपचार भइरहेको छ । उक्त घटनाको विषयमा आवशयक अनुसन्धान भइरहेको जनाएको छ ।

७ किलो चरेशसहित महिला पक्राउ
बारा । बारा प्रहरीले लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेका छन् ।

उनलाई तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।