बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १११ पुग्यो

तु खबर संवाददाता
२०७८ कार्तिक ५,शुक्रबार १७:२५
File Photo

काठमाडौं । गत असोज ३१ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको कुल संख्या १११ जना पुगेको छ । बाढीपहिरो र डुबानमा परेर आज (शुक्रबार) दिउँसोसम्म १११ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो । यस्तै, बाढीपहिरो र डुबानमा परेर ४२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा १ नम्बर प्रदेशका २१ जना, कर्णाली प्रदेशका ४ जना र सुदूरपश्चिम प्रदेशका १७ जना रहेका छन् ।

बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता भएका छन् । बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८६ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएको पनि प्रहरीले जनाएको छ ।