बेमौसमी वर्षा : ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति

तु खबर संवाददाता
२०७८ कार्तिक ५, शुक्रबार १६:०७
file-photo

काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो र डुबान परेर देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । कृषि तथा पशुपन्छी विकास मनत्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार, गत असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानले उक्त रकम बराबरको धानबालीमा क्षति पुगेको हो ।

वर्षाका कारण कूल १ लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको हो । वर्षाका कारण मुख्यगरीतीन वटा प्रदेश प्रभावित बनेको छ । वर्षाका कारण लुम्बिनी, सुदुरपश्चिम र प्रदेश नं. १ मा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, लुम्बिनी प्रदेशको ९३ हजार ५७६ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुर्याउँदा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको प्रभावित ५५ हजार हेक्टर क्षेत्र मध्ये १८ हजार हेक्टरमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको छ भने यसबाट १ अर्ब ९१ करोड रुपैयाँ नोक्सान पुगेको मन्त्रालयले जनाएको छ । यता, प्रदेश नम्बर १ मा पनि सोही वर्षाले ४९ हजार ९४५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा प्रभाव पारेको र सोबाट लगभग ८० करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको मन्त्रालयले जनाएको छ ।