मकवानपुरमा कात्तिक ७ र ८ गते भिटामिन ए खुवाइने

तु खबर संवाददाता
२०७८ कार्तिक ५,शुक्रबार ०९:१७
file photo

मकवानपुर । मकवानपुरमा यही कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ । प्रत्येक वर्ष कात्तिक २ र ३ गते खुवाइने गरेको भिटामिन ए र जुकाको औषधी यस वर्ष भने ७ र ८ खुवाइने भएको हो । सरकारको निर्णयअनुसार, मकवानपुर जिल्लाका ४ सय ६४ जना स्वास्थ्य स्वयंसेविकामार्फत् बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिकाभित्र ९२ जना स्वास्थ्य स्वयंसेविकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउन परिचालन गरिने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए । मकवानपुर जिल्लाभर ४१ हजार ९ सय १८ जना बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य लिएको र ३७ हजार २ सय ७ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको उपाध्यायले बताए । कात्तिक ७ गतेबाट भिटामिन ए र जुकाको औषधी खुवाउन सुरु गर्ने र ७ गते छुटेकालाई ८ गते खुवाइने उनको भनाई छ । ती दुबै दिन खुवाउन छुटेकाले पनि स्वास्थ्य स्वयंसेविकालाई खबर गररे घरमै पुगेर पनि खुवाइने उपाध्यायले जानकारी दिए ।